अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायिका, समर्पित समाजसेवी तथा लाखौँ नेपालीहरूको मन-मुटुमा बस्न सफल आनी छोइङ डोल्मा मोक्तान लामा यतिबेला आफ्नो सार्वजनिक जीवनको सबैभन्दा जटिल मोडमा उभिएकी छन्। उनीमाथि उब्जिएका पुराना वित्तीय तथा नागरिकता सम्बन्धी विवादहरू पुनः सतहमा आएपछि र लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिलाई लिएर नागरिकस्तरमा बहस तीव्र बनेपछि उनले हालै एक भिडियो सन्देशमार्फत आफ्नो मनको बह पोखेकी छन्। भिडियोमा आनी छोइङ डोल्मा मोक्तान लामाले अत्यन्त भावुक हुँदै हृदयका कुरा खोलेकी छन्, जसलाई हेर्दा करुणाका पर्याय मानिने उनको मन कति गहिरोसँग दुखेको छ भन्ने प्रस्ट आभास हुन्छ।

तर, यो भावुकता र चित्तदुखाइभन्दा पर गएर मनन गर्नुपर्ने कुरा के छ भने—आफूमाथि लागेका गम्भीर आरोपहरूको स्पष्टीकरण उत्तिकै स्पष्ट, तथ्यपरक र ठोस तरिकाले आउनु आवश्यक छ। भिडियो सन्देशमा उनले बारम्बार प्रश्नकर्ताहरूलाई "सम्बन्धित निकायमा गएर बुझ्न" आग्रह गरेकी छन्। तर, यो सम्पूर्ण प्रकरणको केन्द्रीय पात्र उनी स्वयं भएकाले अरू निकायतिर औँल्याउनुभन्दा उनले नै तथ्य र प्रमाणसहित कुरा प्रस्ट पारिदिएको भए आम जनताका जिज्ञासा र आशङ्काहरू सहजै मेटिने थिए। बुद्ध दर्शन केवल भावनात्मक उडान वा अमूर्त भावनामा मात्र सीमित छैन; यो एक व्यावहारिक र ठोस जीवन दर्शन पनि हो। त्यसैले आनीले पनि केवल भावनात्मक प्रतिक्रियामा मात्र सीमित नरही आफ्ना पक्षका प्रमाण र सत्यता ठोस रूपमा सार्वजनिक गर्नुपर्छ।

यसैबिच, नागरिकता सम्बन्धी विवादमा अनुसन्धान अघि बढाउने तत्कालीन प्रहरी अधिकारीहरूको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाउने ठाउँ छ। तत्कालीन समयमा काठमाडौँ परिसरका प्रमुख एसएसपी अशोक सिंहले अनुसन्धानका नाममा धेरै व्यक्तिहरूलाई दुःख र सास्ती दिएका घटनाहरू लुकेका छैनन्। सहकारी ठगीका खलनायक मानिएका केदारनाथ शर्मा, इन्दु शर्मा लगायतका विवादित पात्रहरूको प्रभाव र दबाबमा परेर सिंहले स्वेच्छाचारी ढङ्गले काम गरेको आरोप लाग्दै आएको थियो। पछि उनी स्वयं नक्कली शैक्षिक प्रमाणपत्र र उमेर विवाद काण्डमा मुछिएर राजीनामा दिन बाध्य भए, र उनले दायर गरेका वा अघि बढाएका कतिपय मुद्दाहरू पछि सरकार ले हार्नुले पनि उनको तत्कालीन कार्यशैली र मनोविज्ञान कस्तो थियो भन्ने प्रस्ट पार्छ। यस्तो पृष्ठभूमिमा आनी छोइङमाथि सुरु गरिएको नागरिकतासम्बन्धी अनुसन्धान पनि अनुसन्धानका नाममा आर्थिक असुली गर्ने वा दुःख दिने बदनियतका साथ अघि बढाइएको त थिएन? यो सम्भावनालाई पनि पूर्णतः नकार्न सकिंदैन।

आनी छोइङ डोल्मा मोक्तान लामाले सङ्गीत र समाजसेवाको क्षेत्रबाट नेपाललाई विश्वभर दिलाएको पहिचान र पुर्‍याएको योगदान अतुलनीय छ। तर, सार्वजनिक पद, वित्तीय पारदर्शिता र नागरिकता जस्ता संवेदनशील विषयमा उब्जिएका प्रश्नहरूलाई केवल भावनाको जगमा पन्छाउन मिल्दैन। राज्यका निकायले विगतका बदनियतपूर्ण वा विवादित अनुसन्धानको निष्पक्ष पुनरावलोकन गर्नुपर्छ भने आनी स्वयंले पनि आरोपहरूको सामना तथ्य र प्रमाणका आधारमा गर्नुपर्छ। दया, करुणा र भावनासँगै जब ठोस सत्य र कानुनी स्पष्टता अगाडि आउँछ, तब मात्र उनीमाथि लागेका आशङ्काका बादलहरू हट्नेछन् र उनको सार्वजनिक निष्ठा अझ उच्च हुनेछ।

इसे भी पढ़ें:

आनी का नागरिकता विवाद: मजबूरी, ऐतिहासिक परिस्थिति और नैतिकता

ADVERTISEMENT Max Tiger INLINE